काठमाडौं– फिल्म हेर्न आएका दर्शकले ‘नियतवस छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी ‘कबड्डी ४ः द फाइनल म्याच’ फिल्मकी अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलको केएल टावरअघि नाराबाजी भएको छ।
केएलटावरमा रहेको ‘एफक्युब सिनेमा’मा फिल्मको प्रदर्शन बन्द गर्नुपर्ने र अभिनेत्री मगरले माफी माग्नुपर्ने भन्दै नाराबाजी भएको छ।
अभिनेत्री मगरले आइतबार साँझ सिभिल मलमा फिल्म हेर्न आएका फुर्वा तामाङले आफूलाई ‘छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्। उनीविरुद्ध मगरले अभद्र व्यवहारको कसुर लगाएकी थिइन्।
फुर्वा पक्राउ परेसँगै विभिन्न बुद्धिष्ट संघ तथा सो समुदायका मानिसहरुले सामाजिक सञ्जालमा फिल्म र अभिनेत्री मगर दुवैको विरोध गरिरहेका थिए।
मंगलबार बिहान भने चाबहिलको केएलटावर अघि अभिनेत्रीको विरोध गर्दै र फिल्मको प्रदर्शन बन्द गर्न भन्दै नाराबाजी भएको छ। उक्त नाराबाजीमा फिल्मको पोस्टर च्यात्नेदेखि जलाउनेसम्मका कामहरु भएका छन्।
हाल फिल्मको निर्माण पक्षले फुर्वा पक्राउ परेसँगै फिल्मको व्यापारमा प्रभाव पर्ने भएकाले समझदारीमा जान विभिन्न संघसंस्थासँग छलफल गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।