काठमाडाैं-टर्किसमूलका जर्मनीका ३८ वर्षीय बक्सर मुसा यमकको बक्सिङ रिङमै निधन भएको छ। शनिबार युगान्डाका हमजा वान्डेराविरूद्ध म्युनिखमा भएको भिडन्तमा उनी रिङमा उत्रिएका थिए।
तेस्रो चरणको खेलमा मुसा अचानक बेहोस भएका थिए। उनको निधन ह्दयघातका कारण भएको टर्किस अधिकारी हसन तुरानले बताएका छन्। उनले ट्वीटमार्फत जानकारी दिँदै भने, ‘हामीले मित्र मुसा अस्कान यमकलाई गुमाएका छौं।’
मुसाले कम उमेरमै युरोपेली तथा एसियाली च्याम्पियनसिपको उपाधि जितेका थिए। मुसा र हमजा वान्डेराको खेल प्रत्यक्ष प्रसारण भइरहेको थियो।
दोस्रो राउण्डको खेलमा वान्डेराले मुसालाई चोटिलो मुक्का प्रहार गरेका थिए। तेस्रो राउण्डको खेल सुरु भएको केही सेकेण्डमा मुसा रिङमा ढलेका थिए।
मुसा रिङमा लड्खडाएको देखिन्थ्यो। घटनापछि तुरुन्त मुसालाई अस्पताल पुर्याइएकाे थियो। तर, चिकित्सकले केही मिनेटमै उनलाई मृत घोषित गरे।
मुसाले यसअघि कुनै पनि नकआउट इभेन्टमा पराजय भोगेका थिएनन्। उनको रेकर्ड ८–० थियो। सन् २०१७ मा उनी व्यावसायिक बक्सर बनेका थिए। सन् २०२१ मा अन्तर्राष्ट्रिय च्याम्पियन भएपछि उनी चर्चामा आएका थिए।
गत वर्ष २६ डिसेम्बरमा रुसका अरेस्ट सहक्यानको पनि टाउकोमा चोट लागेपछि निधन भएको थियो। उनी इगोर सेमरनिनविरूद्धको भिडन्तमा घाइते भएका थिए। १० दिन कोमामा बसेपछि उनको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।