काठमाडौं– मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद छानबिन गर्न बनेको समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ।
एन्फाले वैशाख २५ गते नेपाल आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।
समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा पनि थिए।
समितिलाई मुख्य प्रशिक्षक अल्मुताइरी र प्रशिक्षण छाडेका १० खेलाडीबीचको विवादको सत्यतथ्य छानबिन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउन एन्फाले निर्देशन दिएको थियो।
समितिले बुधबार २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको छ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका र अध्ययन गरेर आवश्यक कदम चाल्ने बताए।
‘हामीलाई छानबिन समितिबाट प्रतिवेदन प्राप्त भएको छ। उक्त प्रतिवेदन अध्ययन गरेर निष्कर्षमा पुग्छौं र आवश्यक कदम चाल्छौं,’ उनले भने।
एएफसी एसियन कप छनोटको तयारीमा रहेका उपकप्तान रोहित चन्द्रसहित १० खेलाडीले मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षण छाडेका थिए।
प्रशिक्षण छाडेका खेलाडीले प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर निस्किएको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।