काठमाडौं- बार्सिलोनाले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ।
स्पेनिस ला लिगामा रियल बेटिसलाई २–१ ले हराउँदै बार्सिलोना लिग तालिकाको शीर्ष चारमा रहने निश्चित भएको हो।
खेलको ७६औं मिनेटमा जोर्डी अल्बाको पासमा अंशु फाटीले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको तीन मिनेट नबित्दै घरेलु टोलीका मार्क बर्ट्राले गोल गर्दै खेल बराबरीमा ल्याए।
भिल्लामारिन स्टेडियममा सम्पन्न खेलको इन्ज्युरी समयमा ड्यानी अल्भेसको पासमा जोर्डी अल्बाले गोल गर्दै खेल आफ्नो पक्षमा २-१ गोलअन्तरले ल्याए।
जितसँगै बार्सिलोना ६९ अंकमा दोस्रो स्थानमा उक्लेको छ र यो पाँचौंमा रहेको बेटिसमाथि निर्णायक ११ अंकको अग्रता हो।
शनिबारकै अन्य खेलमा ग्रेनेडाले मार्लोकालाई ६–२, काडिजले एल्चेलाई ३–० र सेल्टा भिगोले एलाभेसलाई ४–० ले हरायो। एथलेटिको बिलबाओ र भ्यालेन्सियाले गोलरहित बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।