काठमाडौं- चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन्। पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका थिए।
दुई दिनमा कुल ४४ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्। प्रत्येक तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका हुन्।
पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा, नेपाल आर्मीका सगुन श्रेष्ठ तथा बागमती प्रदेशका रोहित महर्जन र रन्जित साउद छनोट भए। ६३ केजीमुनि प्रहरीका गोविन्दबहादुर आले, मधेश प्रदेशका विक्रान्त डंगोल, बागमतीका रोजिन बमजन र एपीएफका मोहम्मद रफिक छानिए। ८० केजीमाथि आर्मीका भुपेन श्रेष्ठ, एपीएफका निरज देउवा, बागमतीका मिलनकुमार बलामी र लुम्बिनी प्रदेशका आशुतोष बराल छनोट भए।
एकल पुम्सेको पुरुषमा प्रहरीका कमल श्रेष्ठ, प्रहरीकै जितबहादुर बोट, आर्मीका कृष्णबहादुर तामाङ र प्रहरीका प्रेमबहादुर लिम्बू प्रारम्भिक छनोटमा अटाए। सो स्पर्धाको महिलामा प्रहरीकी पार्वती गुरुङ, प्रदेश १ की स्वस्तिका तामाङ, प्रदेश १ की सुशीला राई र आर्मीकी प्रशंसा क्षेत्री छनोट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।