काठमाडौं– नेपालमा ३० प्रतिशतमात्र मात्र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो।
सिँचाइ सुविधा पुगेको जमिन कम भएकाले पनि खाद्यन्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डा. दिपक भण्डारीले बताए। उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे। कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्ट्याएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि उनले स्मरण गराए।
परिषद्ले हालसम्म ८० वटा वस्तुवालीका ७२३ जात विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ। त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।