काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सहभागी भएका गोलरक्षक भवीन्द्र मल्ल ठकुरीले आफू विवादमा पर्न नचाहेको बताएका छन्।
भारतीय आर्मी टिमबाट खेलिरहेका उनी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सहभागी छन्। तर, उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीच विवाद रहेको भन्दै आफू यसमा पर्न नचाहेको बताएका हुन्। ‘कोही पनि विवादमा पर्न चाहँदैन, विशेष गरी खेलकुदमा। म विवादित व्यक्ति बन्न चाहन्न,’ उनले भने।
उनले कुवेतमा हुने एसियन कप–२०२३ को छनोट नखेल्ने संकेत दिँदै नेपाली राष्ट्रिय टोलीलाई समेत शुभकामना दिएका छन्। ‘कहिलेकाहीँ तपाईंले कठिन निर्णयहरू लिनुपर्छ, जसले करिअरलाई मद्दत गर्न सक्छ। म आफ्नो पारिवारिक भविष्य रोज्छु। एसियन कपका लागि शुभकामना,’ उनले भने।
मुख्य प्रशिक्षक अल्मुताइरीले आफूविरुद्ध ‘विद्रोह’ गरेका १० खेलाडीको साथ दिएपछि कप्तान तथा गोलकिपर किरण चेम्जोङको विकल्पमा उनलाई बोलाएका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीका अनुसार उनी प्रशिक्षणमा समेत सहभागी भएका थिए। ‘उनी नेपाल आएको ३/४ दिन भइसक्यो। उनी प्रशिक्षणमा समेत सहभागी भइसकेका छन्,’ ती पदाधिकारीले नेपाल लाइभसँग भने।
प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका खेलाडीले मुख्य प्रशिक्षकविरुद्ध ‘विद्रोह’ गरेका थिए।
मुख्य प्रशिक्षक अल्मुताइरीविरूद्ध खेलाडीले विद्रोह गरेको विषयलाई माल्दिभ्समा व्यावसायिक लिग खेलिरहेका किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत् साथ दिएका थिए।
त्यसपछि मुख्य प्रशिक्षक अल्मुताइरीले दोस्रो रोजाइका गोलरक्षक विकेश कुथुलाई प्रशिक्षणमा बोलाएका थिए। तर, कुथुले सामाजिक सञ्जालमार्फत् आफू प्रशिक्षणमा सहभागी नहुने जानकारी दिएका थिए। खेलाडीको जायज मागप्रति समर्थन जनाउँदै आफू सहभागी नहुने उनले लेखेका छन्।
एन्फाका अनुसार २९ वर्षीय गोलकिपर भवीन्द्र भारतीय आर्मीको रेड फुटबल टिमबाट खेलिरहेका छन्। उक्त क्लबमा उनी ५ वर्षदेखि आवद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।