काठमाडाैं-विभागीय त्रिभुवन आर्मी क्लबले छैटौं आरबीबी एनभीए राष्ट्रिय लिग भलिबलअन्तर्गत पुरुषतर्फ अपराजित यात्रा कायमै राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।
पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट ३०–२८ र चौथो सेट २५–२३ ले जित्यो।
यो जितसँगै शीर्ष स्थानमा रहेको आर्मीको ५ खेलबाट १५ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब १४ अंकसहित दोस्रो स्थानमा रहेको छ।
शुक्रबार नै भएको अर्को खेलमा हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो। गल्कोटको २ तथा ढोरपाटनको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।