काठमाडौं– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद समाधानको लागि नयाँ छानबिन समिति गठनको माग गरेको छ।
एनएनआईपीएले शुक्रबार ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठिन समिति व्यवहारिक नभएको भन्दै नयाँ समिति गठनको माग गरेको हो।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई नयाँ समिति गठनको मागसहितको ज्ञापनपत्र बुझाएका छन्।
एन्फाले गत बुधबार मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर शमशेर जबरा रहेको एक सदस्यीय समिति गठन गरेको थियो।
तर, एनएनआईपीएले एक सदस्सीय छानबिन समिति व्यवहारिक नभएको बताएको छ।
‘पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानबिन समिति एनएनआईपीएलाई पनि नीति सम्मत एवं व्यवहारिक नभएको बुझाइ रहेको छ। यसर्थ देशको गौरवसग जोडिएको गम्भीर विषयमा न्यायिक तथा प्रभावकारी छानबिन गर्नको निमित्त न्यूनतम वा सोभन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानबिन समिति गठन गरी यथासिघ्र समाधानको लागि एनएनआईपीए माग गर्दछ,’ पत्रमा भनिएको छ।
मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले गत मंगलबार क्याम्प छाडेका थिए।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर निस्किएको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।