काठमाडौं– युईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा इङलिस क्लब म्यानचेस्टर सिटीविरूद्व स्पेनिस क्लब रियल मड्रिडले नाटकीय कमब्याक गर्दै ३-१ को जित निकाल्यो।
दोस्रो हाफको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै १-० को अग्रता बनाएर सिटीलाई बलियो अवस्थामा पुर्याएका थिए। तर, खेलको ६८औं मिनेटमा टोनी क्रुजको स्थानमा सबस्टिच्युट हुँदै मैदान प्रवेश गरेका रोड्रिगोले खेलको ९०औं र ९१औं मिनेटमा गोल गरे र रियललाई खेलमा फर्काए।
उनले ९०औं मिनेटमा करिम बेन्जमाको क्रसमा गोल गरेका थिए भने त्यसको एक मिनेटपछि नै असेन्सियोले दिएको बललाई गोल गर्दै रियललाई खेलमा फर्काएका थिए।
त्यसपछि ९० मिनेटसम्मको खेलमा दुवै टिमको समग्र नतिजा ५-५ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। तर, खेलको पाँचौ मिनेटमा नै रियलले पेनाल्टी पायो। पेनाल्टीलाई करिम बेन्जमाले गोलमा परिणत गरे र सिटीलाई स्तब्ध पार्दै रियल समग्रमा ६-५ को जितसहित फाइनलमा पुग्यो।
विश्वभर रोड्रीगोको खेलको प्रशंसा भइरहेका बेला ब्राजिलका महान फुटबलर पेलेले पनि बधाई दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पेलेले रोड्रीगोलाई बधाई दिएका हुन्।
उनले भनेका छन्, 'मलाई थाहा थियो तिमीलाई बधाई दिने यो दिन आउनेछ, मेरो साथी। कडा परिश्रम गर्ने र आफूले गरेको कामलाई माया गर्नेहरूका लागि अर्को कुनै बाटो छैन। तिमीले हामीलाई अझै धेरै यस्ता खुशी दिने छौं रोड्रिगो।'
साथै, पेलेले रियललाई पनि बधाई दिँदै आफू फाइनल हेर्न आतुर रहेको बताएका छन्। उनले भनेका छन्- 'बधाई छ रियल मड्रिड ! म फाइनल हेर्न पर्खन सक्दिनँ।'
पेले सान्तोसमा रहँदादेखि नै रोड्रिगोको ठूलो समर्थक भएका थिए। सान्तोस त्यहीँ सहर हो जहाँ पेलेले आफ्नो करिअरको अधिकांश समय बिताएका थिए।
रोड्रिगोले पनि पेलेले दिएको बधाईको जवाफ दिँदै धन्यवाद दिएका छन्। उनले भनेका छन्- 'धन्यवाद, राजा। म तपाईंको शब्दहरू कहिल्यै बिर्सने छैन र म तपाईंप्रति अनन्त कृतज्ञ छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।