काठमाडौं– शुक्रबार (आज)बाट हलमा दुई नेपाली फिल्म र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। थ्रिलर विधाको ‘षट्कोण’ र हास्यंव्यंग्य विधाको ‘लक्का जवान’सँगै मार्भल स्टुडियोजको फिल्म ‘डक्टर स्ट्रेञ्जः मल्टिभर्स अफ म्याडनेस’ आजबाट प्रदर्शनमा आएको हो।
आजबाट हलमा लागेको मिलन डि काप्रीको निर्देशनमा बनेको फिल्म ‘षट्कोण’ उनको डेब्यू फिल्म हो। फिल्ममा कर्मा शाक्य र भोलाराज सापकोटा मुख्य भूमिकामा छन्। श्रृङखलाबद्ध हत्याको खोजीमा हिँडेको एक पत्रकारको कथा भन्ने यो फिल्म थ्रिलर विधामा रहेर फरक शैलीमा निर्माण गरिनेको फिल्मको निर्माण पक्षले जनाएको छ। फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रयु फिल्म्सको संयुक्त ब्यानरमा बनेको छ।
त्यस्तै, आजबाट प्रदर्शनमा आएको ‘लक्का जवान’ पनि हास्यव्यंग्यमा परिचित कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशन रहेको फिल्म हो। फिल्ममा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।
यता, मार्भल स्टुडियोजको फिल्म ‘डक्टर स्ट्रेञ्जः मल्टिभर्स अफ म्याडनेस’ २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘डक्टर स्ट्रेञ्ज’को सिक्वेल हो। फिल्मलाई सेम रैमीले निर्देशन गरेका छन्, जो हरर विधाका फिल्म निर्देशनमा कहलिएका निर्देशक हुन्। फिल्ममा बेनेडिक्ट कुम्बरब्याच, एलिजाबेथ ओल्सन, जोचिटी गोमेजलागतका कलाकारको अभिनय छ।
डक्टर स्ट्रेञ्जको क्रेज आजबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्मको भन्दा धेरै भएकाले हलमा पनि यसको प्रभाव हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।