काठमाडौं–बलात्कारका विषयमा गरेको टिप्पणीका कारण अभिनेता रमेश उप्रेती विवादमा आएका छन्। न्युज २४ टेलिभिजनबाट प्रसारण भएकाे एक कार्यक्रममा दिएको अन्तर्वार्तामा बलात्कारसम्बन्धी टिप्पणीका कारण उनी विवादमा तानिएका हुन्।
अन्तर्वार्तामा उप्रेतीले ‘बलात्कार हुनेबित्तिकै तत्कालै कराउनुपर्ने वा भोलिपल्टै उजुरी दिनुपर्ने र एक वर्षपछि बलात्कार भयो भन्न नमिल्ने’ तर्क गरेका थिए।
‘पहिलो कुरा त बलात्कार हुनेबित्तिकै तत्कालै कराउनु पर्यो वा चिच्याउनु पर्यो, वा भोलिपल्टै गएर उजुरी दिनुपर्यो, एक वर्षपछि त्यस्तो हुँदैन। दोस्रो कुरा हरेक ठाउँमा बलात्कार हुँदैन,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘एक ठाउँमा भयो, तर त्यहाँ उहाँले उजुरी दिनु भएन रे। अब फेरि अर्को ठाउँमा हुन्छ? मैले यो बुझेर बलात्कार होइन भनेको छु। कुरा मिल्दासम्म चमत्कार, कुरा नमिलेपछि बलात्कार भन्नेजस्तो काम गर्नु राम्रो होइन, मान्छेलाई दुःख दिनु भएन नि।’
उप्रेतीको यो टिप्पणी हाल चर्चामा रहेको पल शाहको प्रकरणलाई लिएर छ। नाबालिग गायिकाको बलात्कार गरेको आरोपमा हिरासतमा रहेका पलको प्रसंगमा उनले बलात्कारबारे यस्तो टिप्पणी गरेका हुन्। उनले आफू सत्यको पक्षमा बोल्ने भएकाले सत्य बोलेको पनि जिकिर गरेका छन्।
‘त्यो बलात्कार हुँदै होइन। कुनै सम्बन्ध भयो होला,’ पल प्रकरणमाथि टिप्पणी गर्दै उनले भनेका छन्, ‘तर, बार–बार बलात्कार हुँदै होइन। त्यसकारण पनि मैले एक जना स्टार जेल बस्दा मन रुन्छ भन्छु। चलचित्र क्षेत्रलाई अगाडि बढ्नमा उहाँको पनि ठूलो योगदान थियो र हुनेछ। त्यस्तो मान्छे विभिन्न किसिमको लाञ्छना लागेर जेलभित्र बस्नु भनेको नराम्रो कुरा हो।’
उप्रेतीको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै उनीमाथि मनोरञ्जन क्षेत्रमा प्रश्न उठाइएको छ। अभिनेत्री बेनिशा हमाल र स्वस्तिमा खड्काले सामाजिक सञ्जालमा ‘बलात्कारजस्तो विषयमा यस्तो सोच हुनु गलत भएको’ टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।