काठमाडौं– माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन्।
खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर रहेका छन्।
म्याच कमिसनारमा तेजेन्द्र महारा र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन्। यस्तै टिम पदाधिकारी प्रतेश श्रेष्ठ छन्। प्रतियोगिता बैशाख २६ देखि २८ गतेसम्म हुनेछ।
प्रतियोगिताका क्रममा हुने दक्षिण एसियाली टेबल टेनिस संघको बैठकमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दाज बैद्य र दक्षिण एसियाली टेबलटेनिस संघका महासचिव शंकर गौत्तमले भाग लिने छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिहीबार विदाइ गरे।
त्यसअघि नेपाल ओलम्पिक ककिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबारै आयोजित एक छुट्टै कार्यक्रममा टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि लिनिङ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले पोसाक तथा खेल सामग्री प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।