काठमाडौं–नेपाल तेक्वान्दो संघको आधिकारिकता विवादले चीनको ह्वाङझोउमा हुने १९ औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोटमा असर गरेको छ।
आगामी भदौ अन्तिमदेखि हुने एसियाडका लागि समावेश भएका सबै खेलको प्रारम्भिक टिम छनोट प्रक्रिया भइरहेको छ। यसपल्ट एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउनेछ।
गत असोजमा निर्वाचित नेपाल तेक्वान्दो संघको नयाँ कार्यसमितिलाई मान्यता नदिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई संयोजक र संगीना वैद्यलाई उपसंयोजक तोकेर खेलाडी छनोटको जिम्मेवारी दिएको थियो।
राखेपको लेटर हेडमा बैशाख १९ गते जारी सूचनाअनुसार सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा एसियाडका लागि राष्ट्रिय टिम निर्माण गर्न वैशाख २३ र २४ गते छनोट प्रतियोगिता सञ्चालन हुनेछ।

त्यसको दुई दिनपछि बैशाख २१ गते नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक राम गिरीद्वारा हस्ताक्षरीत सूचनामा पनि सोही व्यहोरा, मिति र मापदण्ड उल्लेख गरिएको छ।

एसियाडमा तेक्वान्दोले यसपल्ट पुरुषतर्फ ५ र महिलातर्फ ४ तौलसमूहमा सहभागिता जनाउनेछ। पुम्सेतर्फ पुरुष र महिला एकल विधा समावेश छ।
पुरुषतर्फ ५८ केजीमुनी, ६३ केजीमुनी, ६८ केजीमुनी, ८० केजीमुनी र ८० केजीमाथि तथा माहिलातर्फ ४९ केजीमुनी, ५३ केजीमुनी, ५७ केजीमुनी र ६७ केजीमुनी तौलसमूहमा छनोट प्रतियोगिता हुनेछ। पुम्सेमा एकल महिला र पुरुषको छनोट हुनेछ।
दुवै सूचनाअनुसार १८ वर्ष उमेरमाथिका खेलाडीले छनोट प्रतियोगिता खेल्न पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।