काठमाडौं– पूर्वअर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ जर्सी कीर्तिमानी मूल्यमा लिलामी भएको छ।
सन् १९८६ को फिफा विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनल खेलमा म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गोल गर्दा उक्त जर्सी लगाएका थिए। सो खेलमा म्याराडोनाले लगाएको जर्सी ७.१ पाउण्ड मिलियनमा बिक्री भएको हो। यो खेलकुद सामग्रीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्य हो।
म्याराडोनाको उक्त जर्सी इंग्ल्यान्डका पूर्वमिडफिल्डर स्टिभ होजसँग थियो। अर्जेन्टीनाले इंग्ल्यान्डलाई २–० ले पराजित गरेपछि होज र म्याराडोनाले जर्सी आदानप्रदान गरेका थिए।
उक्त खेलमा होजले हावामा ‘फ्लिक’ गरेको बललाई म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए।
म्यारोडोनाको २०२० मा हृदयघातका कारण निधन भएको थियो। ८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रूपमा रहेका म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्व कपको उपाधि चुमेको थियो।
यसबाहेक उनको थुप्रै व्यक्तिगत विश्व रेकर्डहरु छन्। उनले ३७ वर्षको उमेरमा व्यवसायिक खेलबाट सन् १९९७ मा सन्यास लिएका थिए।
खेल जीवनबाट सन्यास लिएपनि उनी सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।