काठमाडौं– हालसालै प्रदर्शनमा आएको बलिउड अभिनेता अजय देवगणको फिल्म ‘रनवे ३४’माथि भारतीय पाइलटहरूले सत्यभन्दा धेरै टाढाको कथा देखाइएको आरोप लगाएका छन्।
फिल्ममा हवाई उडानसँग सम्बन्धित रहेर प्रस्तुत गरिएको कथा वास्तविकताभन्दा धेरै पर रहेको भारतीय पाइलटहरूको संगठन ‘फेडेरेसन अफ इण्डियन पाइलट्स’ले जनाएको छ।
देवगणको निर्देशन र अभिनय दुवै रहेको यो फिल्म सत्य घटनामा आधारित रहेको बताइएको थियो। तर, पाइलटहरूले भने फिल्ममा सत्यता केही नभएको र पूर्ण रुपमा काल्पनिक कथामा आधारित रहेको बताएका छन्।
फिल्मको निर्माण पक्षले ‘रनवे ३४’ २०१५ मा दोहाबाट भारतको कोच्चिसम्म आइरहेको उडान क्र्यास ल्याण्डिङको सत्य घटनालाई देखाइएको बताएको थियो। मौसम खराब भएका कारण भिजिबिलिटीमा भएको समस्याका बारण उक्त जहाज दुर्घटनाग्रस्त भएको थियो र कैयौं यात्रुहरुको पनि मृत्यु भएको थियो।
तर, फिल्ममा भने यस्तो वास्तविकता नभएको र काल्पनिक विषयलाई ‘सत्य घटना’ भन्दै प्रचार गरेको आरोप लगाइएको छ। पाइलट फेडेरेसनका सचिव क्याप्टेन सीएस रंधावाले एक विज्ञप्ति जारी गर्दै फिल्मको निन्दा गरेका छन्।
उनले भनेका छन्, ‘फिल्ममा पाइलटको पेसालाई जुन रुपमा देखाइएको छ, त्यो वास्तविकताभन्दा कोशौं दूर छ। जुन रुपमा फिल्ममा देखाइएको छ, त्यो जहाजमा यात्रा गर्ने यात्रीहरूको मनमा भ्रम पैदा गर्ने किसिमको कथा रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।