काठमाडाैं-प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेकाे छ।
प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्याे। सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–४ र ६–३ को सीधा सेटमा हराउँदै फाइनलमा पुग्याे।
पुरुष सिंगल्समा प्रदीप खड्काले अकी जुवेन रावतलाई ६–३ र ६–३, प्रणव मानन्धरले सौगात विकलाई ६–२ र ६–३ तथा प्रणव खनालले विवेक मगरलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सन्तोष खत्री गौरवप्रताप शाहीबाट वाकओभर पाएर सेमिफाइनलमा पुग्न सफल भए।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र सिमान्त गुरुङ सेमिफाइनलमा पुगे। ३५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डरी र सुमित मैनाली, राजु क्षेत्री र ईश्वर जिसी, दावा शेर्पा र जितेन्द्र परियार तथा अनील शाही र समीर शेरचनले सेमिफाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, प्रदीपबहादुर शाह, निरन्जन श्रेष्ठ र ध्रुवबहादुर गुरुङले सेमिफाइनलमा स्थान पक्का गरे।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही र रोहित सुनुवारले स्वर्ण भिडन्त निश्चित गरे। ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु क्षेत्री र हेमराज ढकाल, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार तथा शिवप्रसाद सेढाईं र बिभु कायश्थले सेमिफाइनलमा स्थान बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।