पोखरा–युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताका लागि सहयोग गर्न मन्त्रालय तयार रहेको जनाएका छन्।
गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीबारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा बिहीबार पोखरामा आयाेजित पत्रकार भेटघाट तथा अन्तक्रियामा मन्त्री गहतराजले उक्त कुरा बताएका हुन्। उनले भने, ‘अब प्रतियोगिताका लागि ३७ दिन बाँकी छ। आफ्नो तयारी सुरु गर्नुहोस्। सरकार यहाँहरुको साथमा छ।'
नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा आयोजना हुने उल्लेख गर्दै उनले भने, ‘हामीसँग समय छोटो छ। खेलाडी छनोटदेखि प्रतियोगिताको तयारी सुरु गर्नुछ। खेलाडी छनोट प्रकृया भोलिबाटै सुरु गर्नुस्। सरकार आर्थिक, नैतिक र प्राविधिकरुपमा सहयोग गर्न तयार छ।'
पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथि उठाउन सहयोग पुग्ने बताउँदै मन्त्री गहतराजले कोभिडपछि हुन लागेको खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत प्रवाह हुने बताए।
गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद आफ्नो ऐतिहासिक वर्चस्व बनाउन सफल हुने भन्दै उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशले समेत सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गरे।
मन्त्री गहतराजले एक अर्को प्रसङ्गमा यूवा तथा खेलकुद मन्त्रालय नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ अघि बढेको बताउँदै विदेशबाट अध्ययन गरेर नेपाल फर्किएका जनशक्तिलाई सम्वोधन गर्नेतर्फ समेत मन्त्रालयले सोच बनाएको बताए।
कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै देशैभरि यसले तिव्रता पाएको बताए । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलसहित केही खेलहरु प्रदर्शनी खेलका रुपमा रहने उल्लेख गर्दै उनले भने, ‘यो महोत्सव हो। खेलकुद र खेलकर्मीका लागि अरु कुरा सहायक हुन्। हाम्रो सम्पूर्ण ध्यान यसलाई सफल बनाउनेतर्फ नै हुनेछ।' पोखरेलीहरुलाई आफ्नो घर आँगनमा आयोजना हुने खेलकुदलाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्नसमेत आग्रह गरे।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं राष्ट्रिय खेलकुदको तयारी छोटो र व्यवस्थापनमा चुनौती रहे पनि सकारात्मक सोचका साथ सफल बनाउनु सबैको दायित्व रहेको जनाए। उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक–एक खेल भएमा प्रतियोगिताले थप उचाइ प्राप्त गर्ने बताए।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले पोखराले पाएको यो अवसर महत्वपूर्ण हुने बताए। आयोजक प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको समेत रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।