काठमाडौं– २२ महिना लामो प्रहरी महानिरीक्षक (आईजीपी)को जिम्मेवारी सम्हालेर अवकाशमा जान लागेका शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा केही अभुतपूर्व काम भएको बताएका छन्।
बधुबार प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै क्षेत्रीले आफ्नो कार्याकालको समीक्षा गर्दै उक्त कुरा बताएका हुन्। आईजीपीको जिम्मेवारी सम्हालेका बेला कोराना भाइरस (कोभिड–१९)का कारण समय अनकुल नभएको तर, पनि प्रहरीले उत्कृष्ट काम गरेका उनले बताए। कोरोना माहामारी नियन्त्रण तथा उपचारमा नेपाल प्रहरीले अभुतपूर्व काम गरेको भन्दै क्षेत्रीले सिंगो संगठनको प्रशंसा गरे।
माथिल्लो तहमा मात्रै नभई तल्ला तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूका लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा/बढुवा गरिएको उनले बताए। प्रहरी नियमावली संशोधन पनि एउटा अभुतपूर्व काम भएको र त्यसले तल्लो दर्जा र कार्यालय सहयोगी कर्मचारीलाई धेरै राहत पुगेको उनको भनाइ छ।
लामो समयदेखि वृद्धि हुन नसकेको प्रहरीको राशन वृद्धि गरिएको, एउटै पदमा १२ वर्ष बिताएपछि अकावशमा जाँदा एक तह बढुवा हुने प्रावधानलाई संशोधन गरेर १२ बाट ८ मा झारिएको, ट्राफिकको रोकिएको भत्ता पुन: वितरणको व्यवस्था आफ्नै कार्याकालयमा मिलाइएको उनले बताए।
यसअघि पिटी जुत्तामा दौडनु पर्ने अवस्थाको अन्त्य गरेर स्पोर्टस् सुजको व्यवस्था गरिएको, २३ हजार प्रहरीको बढुवा गरिएको, २८ हजारको सरुवा गरिएको उनले बताए।
२८ हजार प्रहरी सरुवा हुँदा २/४ वटा सरुवामा मात्रै विवाद हुनुलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए। बढुवामा आफूले सकेसम्म ज्येष्ठता कायम गर्ने प्रयास गरेको पनि उनको भनाइ छ।
अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको क्षेत्रीले बताए। नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान विशेष पहल गरिएको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।