काठमाडौं– नेपाल बास्केटबल संघ (नेबा)ले आफ्नो अनुमतिबिना अन्य प्रतियोगिता गर्न नदिने भएको छ। नेबाका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले मंगलबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो अनुमतिबिना खुल्लास्तरको बास्केटबल प्रतियोगिता गर्न नदिने जनाएका हुन्।
‘केही आयोजकले नेबाको स्वीकृतिबिना खुला स्तरको प्रतियोगिता गर्न खोजेको सुनिएको छ र यसको अर्थ नेबाको जिम्मेवारी र आधिकारिकतासँगै यसको भूमिकालाई कमजोर बनाउन खोजिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै टोलीहरू (क्लब, संस्थाहरूको प्रतिनिधित्व गर्ने टोली)ले त्यस्ता कार्यक्रमहरूको आयोजकहरूबाट नेबा सम्बद्धता र अधिकार लिनुपर्छ। नेबाले आफ्ना खेलाडीहरूलाई नेबाको अनुमति बिना त्यस्ता प्रतियोगिताहरूमा भाग लिन अनुमति दिँदैन।’
नेबाले आसन्न नवौं राष्ट्रिय खेलकुद अघि कुनै पनि प्रकारका प्रतियोगितामा खेलाडीहरुलाई सहभागी हुन अनुमति नदिने पनि जनाएको छ। ‘आसन्न नवौं राष्ट्रिय खेलकुद अघि कुनै पनि प्रकारका प्रतियोगितामा सहभागी हुन खेलाडीलाई अनुमति नदिने भएको छ। यसलाई मध्यनजर गर्दै नेबाको अनुमतिबिना आयोजना हुने कुनै पनि प्रतियोगितामा सहभागी नहुन सबै क्लब, टोलीलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।