काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। मंगलबार ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरियो।
भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीले ८० हजार प्राप्त गरे। केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँघको समस्या छ।
कोषका अध्यष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो।
राखेपा सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए।
‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाचो छ,’ सदस्य–सचिव घिसिङले भने, ‘कोषको आयतन बढाउन आवश्यक छ। यो कार्यमा म लागिरहेको छु। तपाईंहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।