काठमाडौं– च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजदेखि सुरु हुँदै छन्। दुई लेगमा हुने सेमिफाइनल यसपटक ‘इंग्ल्यान्ड भर्सेस स्पेन’ भएको छ।
इंग्ल्यान्डका म्यानचेस्टर सिटी र लिभरपुलले अन्तिम चारमा स्थानमा बनाएका छन्। सिटीले मंगलबार राति स्पेनिस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। यता, लिभरपुलले बुधबार राति स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ।
मंगलबार राति सिटीले रियललाई घरमा आतिथ्यता प्रदान गर्नेछ। सिटी लगातार दोस्रोपटक प्रतियोगिताको फाइनल खेल्ने लक्ष्यमा छ। रियल भने पछिल्लो चार सिजनमा पहिलोपटक फाइनल खेल्ने लक्ष्यमा छ।
सिटी पहिलो उपाधि जित्ने अभियानमा छ। सिटीका प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछन्।
गुआर्डीओलाले यसअघि दुई पटक फरक टोलीको जिम्मेवारी सम्हाल्दै रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा हराएका छन्।
सन् २०१०-११ सिजनमा बार्सिलोनाको प्रशिक्षकको भूमिकामा गुआर्डीओलाले रियललाई पराजित गरेका थिए। त्यसबेला बार्सिलोनाले सेमिफाइनलमा रियलमाथि ३-१ को समग्र जित हासिल गरेको थियो।
गुआर्डीओलाले त्यसपछि सिटी आएर सन् २०१९-२० को सिजनमा रियललाई समग्रमा ४-२ ले पराजित गरेको थियो। त्यसबेला रियलको यात्रा राउन्ड अफ १६ मा नै समाप्त भएको थियो। यसपटक रियललाई पराजित गरे गुआर्डीओला रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा तीन पटक पराजित गर्ने पहिलो प्रशिक्षक बन्नेछन्।
सिटीका मुख्य प्रशिक्षक गुआर्डीओलाले रियललाई हराउन र च्याम्पियन्स लिगको फाइनलमा पुग्न दुई उत्कृष्ट खेलको आवश्यकता भएको बताएका छन्।
‘रियल मड्रिड कस्तो टिम हो भनेर टिप्पणी गर्न आवश्यक छैन। इतिहासको तुलना गर्ने हो भने, सिटीको कुनै सम्भावना छैन। हामी इतिहासलाई परिवर्तन गर्न सक्दैनौं,’ उनले भने, ‘तर, यो ११–११ खेलाडीले एउटा बलमा खेल्ने खेल हो। ९० मिनेटभित्र जे पनि हुन सक्छ।’
रियल भने प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जित्ने टिम हो। रियलले १३ पटक उपाधि चुमिसकेको छ। रियलले इंग्ल्यान्डको टोलीविरुद्ध पछिल्लो ६ अवे खेलमा एक पटक मात्र जित हासिल गरेको छ।
चेल्सीलाई क्वार्टरफाइनलको पहिलो लेगमा पराजित गर्दै रियलले बलियो सुरुआत गरेको थियो। त्यसो त हालसम्म कुनैपनि टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा दुई इंग्लिस टोलीको घरेलु मैदानमा जित हासिल गरेको इतिहास छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।