काठमाडौं– अमेरिकाको टेक्ससमा भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म महोत्सवमा अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेता बनेका छन्। त्रिपाठी महोत्सवमा छनोट भएको फिल्म ‘हल्कारा’मा गरेको अभिनयबाट उत्कृष्ट अभिनेता छानिएका हुन्।
महोत्सवमा त्रिपाठीको अमेरिकी र बेलायती अभिनेताहरुसँग प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट अभिनेताको अवार्डका लागि त्रिपाठीसँगै ‘अ प्लेस गल्ड होम’का लागि अमेरिकी अभिनेता बेन गेभिन र ‘फेर्री मेन’का लागि बेलायती अभिनेता ओलिभर लि प्रतिस्पर्धा भएको थियो। जसबाट उत्कृष्ट अभिनेता त्रिपाठी छानिएका छन्।
त्रिपाठी अभिनित फिल्म ‘हल्कारा’ विक्रम सापकोटाको निर्देशनमा बनेको छ। फिल्ममा त्रिपाठीसँगै बिनिता थापा मगर, उमेश तामाङ, पशुपति राई, विद्या कार्की, स्व. दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ। कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको कथाविप्लम प्रतिक र आकाश बरालले संयुक्त रुपमा लेखेका छन्।
महोत्सवमा ‘हल्कारा’ फिल्म पनि उत्कृष्ट विदेशी भाषाको फिल्म बन्दै प्लाटिनम रेमी अवार्ड हात पारेको छ। त्यस्तै, फिल्म खिचेका छायाँकार चिन्तन राजभण्डारीले महोत्सवमा सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।