काठमाडौं- भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुने काठमाडौंका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ गैरकानुनी रुपमा कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
हाल निलम्बनका रहेका उनी २०५६ साल साउन ५ गते विचारी पदमा सेवा प्रवेश गरेका थिए।
२०७५/०७६ सम्मको जाँच अवधिमा उनले ३ करोड ८९ लाख ४५ हजार बराबर सम्पत्ति जोडेका छन्।
थापाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको आरोप पत्रमा उल्लेख छ।
उक्त स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।