काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार विमानस्थलको आगमन टनेल गेटबाट रोल्पाको त्रिवेणी गाउँपालिका-३ का खिमराज डाँगी र दाङको तुल्सीपुर उपमहानगरपालिका-६ का प्रताप चौधरीलाई पक्राउ गरेको हो।
दुबईबाट हिमालयन एयरमार्फत् काठमाडौं आएका डाँगीबाट प्रहरीले २ लाख ९० हजार बराबरको दुई वटा आइफोन बरामद गरेको छ।
त्यस्तै, उनको साथबाट २ लाख १६ हजार २६२ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी पनि बरामद भएको प्रहरीले जनाएको छ।
डाँगीसँगै दुबईबाट हिमालयन एयरमार्फत् काठमाडौं आएका चौधरीको साथबाट २ लाख ९० हजार बराबरको दुई वटा आइफोन र २ लाख १६ हजार २६३ रुपैयाँ बराबरको बेरूवा औंठी बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको विमानस्थल प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।