मन्त्री रेणु यादव।
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ। आज आयोगको कार्यालयमा बोलाएर घटनाबारे जानकारी लिँदै आयोगले यस्तो निर्देशन दिएको हो।
माघ ५ गते समाजवादी युवा संघ रौतहटले गौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उत्तेजनापूर्ण भाषण गरेकी थिइन्। मन्त्रीको अभिव्यक्ति र यसबाट सिर्जित अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोगले जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे नि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको बताएकी थिइन्।
उनले हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र भविष्यमा त्यस्तो अभिव्यक्ति आफूबाट नदोहोरिनेमा सचेत रहेको प्रष्ट पारेकी छन्।
आयोगका अध्यक्ष एवं सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भाव खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ्य र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिएका थिए।
आयोगले अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भएपनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने जनाएको छ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानवअधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन पनि आयोगले मन्त्रीलाई भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।