काठमाडौं– एमसीसी परियोजना कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरुबीच मतान्तर देखिएको छ। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा प्रष्ट देखिएका छन्। यस विषयमा गठबन्धन घटककै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने प्रष्ट हुन सकेको छैन।
पछिल्लो समय यही विषयमा प्रधानमन्त्री देउवाले पटक–पटक गठबन्धनका साझेदार दलहरुसँग छलफल गरिरहेका छन्। एमसीसी लगायतका विषयमा प्रधानमन्त्रीले गरिरहेको छलफलका विषयमा बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका थिए।
त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाणले कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग पनि संवाद गरेका थिए। बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्रीले दाहाल र नेपालसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपाललाई अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा के–के विषय संशोधन गर्नुपर्छ भनेर सोधेका थिए।
‘आज बिहान हामीले एमसीसीका बारेमा छलफल गर्यौं। सो क्रममा प्रधानमन्त्रीले सुधार गर्नुपर्ने विषय के के हुन भनेर सोध्नुभयो,’ नेपालले भने, ‘देशका हितमा हुने कुरामा असहमति रहने कुरा नै भएन। बाँकी कुराहरु संशोधन गर्नुपर्छ भन्ने नै हाम्रो धारणा हो।’
अध्यक्ष नेपालले संशोधन गर्नुपर्ने विषय के के हुन् ती विषय उपलब्ध गराउन प्रधानमन्त्रीले भनेको जानकारी दिए।
‘हामी जनता र राष्ट्रको हितलाई संरक्षण गर्न चाहन्छौं। यी सबै सन्दर्भमा छलफल गरेका छौं। एमसीसीका विषयमा कुन कुन कुरा छन् सुधार्नुपर्छ भनेर प्रधानमन्त्रीले सोध्नुभयो,’ नेता नेपालले थपे।
आफूहरु स्वतन्त्र, सार्वभौम र तटस्थ नीति लिएर अगाडि बढ्न चाहेको भन्दै सबै छिमेकी र देशसँग राम्रो सम्बन्ध बनाउन चाहिरहेको अध्यक्ष नेपालले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने आश्वासन प्रधानमन्त्रीलाई दिएको उनको आरोप छ।
बिहान बालुवाटारमा छलफल गरेका तीन नेताहरुबीच साँझ पनि कुराकानी भएको छ। पाँचदलीय सत्ता गठबन्धनमा एमसीसी परियोजनालाई कार्यान्वयन गर्ने वा के गर्ने भन्ने विषयमा प्रष्ट धारणा बनिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।