काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग राख्दै देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
‘स्थानीय तहको निर्वाचनको विषयमा अहिले पनि आलटाल गर्ने जस्तो देखिएको छ। भोलिको मन्त्रिपरिषद्ले निर्णय गरे बेग्लै कुरा भयो,’ उनले भने, ‘नभए देशभर नै दबाबमूलक कार्यक्रम सञ्चालन हुन्छ।’
एमालेले केन्द्रमा र सातवटै प्रदेशमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिन लागिएको हो।
उनले स्थानीय तहको रिक्तता हुन नदिनका लागि जनवर्गीय संगठनले कार्यक्रम गर्दै आए पनि पार्टीले नै अब कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववीयुले दबाबमूलक कार्यक्रम गरिरहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।