काठमाडौं- नेकपा (एमाले)ले पार्टीका ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
‘फागुन र चैत महिनासम्म सदस्यता वितरण र नविकरण गर्ने निर्णय गरेको भएको छ। हामीले प्रदेश र जिल्लामा नविकरण र अद्यावधिक पनि गर्छौं,’ उनले भने,‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ।’
केन्द्रले हरेक जिल्ला कमिटीलाई विज्ञ नियुक्तिका लागि निर्देशनसमेत दिने भएको छ। अब नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने पनि निर्णय भएको छ।
एमालेले तुलसीपुर उपमहानगरको उपप्रमुखलाई निष्काशन गर्ने निर्णय पनि गरेको छ। पार्टी परित्याग गरेपछि उनलाई निष्काशन गर्ने निर्णय गरिएको हो।
यस्तै,रौतहट र पर्साको जिल्ला अधिवेशनमा देखिएको समस्या समाधानका लागि संगठन विभागलाई जिम्मेवारी दिने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।