काठमाडौं- नेकपा एमाले सिन्धुपाल्चोकका पुराना नेता एवम् पूर्वसांसद् सुवास कर्माचार्यसहितका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।
एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त गर्दै कर्माचार्य औपचारिक रुपमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एसमा प्रवेश गरेका हुन्।
उनीसहित सिन्धुपाल्चोकका कयौं पुराना एमालेका नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरे। उनीहरुलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।
नेकपा एमाले प्रतिनिधि परिषद् सदस्य सीता थापा, ईश्वरीप्रसाद श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य यज्ञ सापकोटा, एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष दीपक नेपाल, एमाले जिल्ला कमिटी सदस्य रवीन्द्र शर्मा, विष्णुलाल श्रेष्ठ लगायत दर्जन बढी नेता कार्यकर्तालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेशपछि कार्यक्रममा सम्बोधन गर्दै नेता कर्माचार्यले ८ दर्जन भन्दा धेरै साथीहरु एकीकृत समाजवादीमा लागेको दाबी गरे।
आफूहरुले पार्टी प्रवेश गरेको नभइ दशकौंदेखि माधव नेपालसँगै रहेको उनले बताए। 'नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको विकृति र विसंगतीविरुद्ध नेता नेपालले बोकेको झण्डामा साथ दिन हामी निरन्तर समाहित छौं, यो पार्टी प्रवेश होइन' उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएको कर्माचार्यको आरोप छ।
एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था रहेन भन्ने निष्कर्ष निकालेपछि आफूहरु नेकपा एसमा समाहित भएको उनले तर्क गरे।
एमालेको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार हुने तयारी गरेपनि टिममा नपरेपछि कर्माचार्य केन्द्रीय सदस्य हुनबाट वञ्चित भए। पछि मनोनित केन्द्रीय सदस्य बन्ने चाहनासमेत पूरा हुन नसकेपछि उनी नेकपा एसमा प्रवेश गरेका एमाले सिन्धुपाल्चोकका नेताहरुको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।