काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटवार्ता गरेका छन्। बिहान नेपाल निवास कोटेश्वर पुगेर गृहमन्त्री खाणले भेट गरेका हुन्। पछिल्लो समय स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा गठबन्धन दलहरुका बीचमा फरक मत आइरहेका बेला गृहमन्त्रीले भेटवार्ता गरेका हुन्।
उनी निकट स्रोतका अनुसार छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कोटेश्वर पठाएका थिए। नेपाल र खाणबीच आसन्न स्थानीय तहको निर्वाचन र एमसीसी लगायतका विषयमा नै कुराकानी भएको बताइएको छ।
गृहमन्त्री खाणले भेटवार्ता गरेपछि अध्यक्ष नेपाल प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
भेटवार्तामा आसन्न स्थानीय तहको निर्वाचन र एमसीसीकै विषयमा कुराकानी केन्द्रीत भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।