मन्त्री रेणु यादव, फाइल तस्बिर
काठमाडौं– गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्तारुढ गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन्।
नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका अध्यक्षलाई पत्र पठाएका हुन्।देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पत्र पठाइएको उनीहरुमध्येका कनकमणि दीक्षितले जानकारी दिएका छन्।
डा केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र दीक्षितले नेताहरुलाई पत्र लेखेका हुन्।
माघ ५ गते रौतहटको गौरमा भएको आमसभामा बोल्दै मन्त्री यादवले २०६३ साल चैतमा भएको गौर नरसंहार दोहोर्याउने चेतावनी दिएकी थिइन्। २०६३ चैतमा भएको उक्त नरसंहारमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा (माओवादी)का २८ जना कार्यकर्ताको हत्या गरेका थिए।
मन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति आउनु संविधान र प्रचलित कानुन विपरीत रहेको नागरिक अगुवाहरुको भनाइ छ।
दलका नेताहरुलाई पठाइएको पत्रमा आफूहरु मन्त्री यादवको राजीनामा (बर्खास्ती)को मागमा अडिग रहेको पनि उनीहरुले उल्लेख गरेका छन्।
दलका नेताहरुलाई पठाइएको पत्र पार्टी कार्यालयहरुमा दर्ता भएको जनाइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।