काठमाडौं- बाँकेको नेपालगञ्जकी नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा पक्राउ परेका ७ जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
सोमबार जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि ८ जना प्रहरी कार्यलयमा हाजिर भएका थिए। हाजिर हुनेमा कांग्रेस नेता बादशाह कुर्मी, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह छन्।
बब्बनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण हाजिरी जमानतमा छाडेको प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए। यस्तै, अन्यलाई भने ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ।
यसअघि बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी र निर्मलाको न्यायका नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य र स्थानियहरुले माइतीघरमा धर्ना दिएका थिए।
नन्कुन्नी र निर्मलाको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै उनीहरुले कारबाहीको माग गर्दै धर्ना दिएका थिए।
उनीहरूको आन्दोलनपछि यसबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समित गठन गरिएको थियो। उक्त समितिले कात्तिक १५ गते गृहमन्त्री बालकृषण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
एक साता लगाएर छानबिन गरेको समितिले साढे चार बिघा जग्गा हत्याउन निर्मलालाई बेपत्ता बनाएको निष्कर्ष निकालेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ की कुर्मी २०७५ माघदेखि बेपत्ता छिन्। उनको मृत्यु भइसक्यो वा जीवित नै छिन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन।
निर्मलाका श्रीमान् महलु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि निर्मलासँग दुई छोराहरु रामसागर र सुरेश थिए। रामसागर र सुरेशको पनि २०६६ मंसिरमा १० दिनको अन्तरमा रहस्यमय मृत्यु भएको थियो।
श्रीमान र छोराको मृत्यु भएपछि उनीहरुको नाममा रहेको जग्गा हत्याउन घरजग्गाका कागजात र लालपूर्जा कांग्रेस नेता तथा पूर्वसभासद बादशाहले लिएको पाइएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनीहरुको नाममा रहेको साढे ४ बिघा जग्गा हत्याउने योजनासहित निर्मलालाई बेपत्ता पारेको रेग्मी नेतृत्वको समितिले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।