काठमाडौं- विगत १ वर्षमा अवैधरुपमा अमेरिका छिर्न खोज्ने १७ लाख आप्रवासी पक्राउ परेका छन्।
मेक्सिकोबाट अवैधरुपमा अमेरिका आउने क्रममा पक्राउ परेका उनीहरुलाई मेक्सिकोको सीमामा रहेको हिरासतमा राखेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले जनाएको छ। पक्राउ पर्ने आप्रवासीको यो संख्या हालसम्म कै उच्च हो।
सरकारी एजेन्टबाट पक्राउ परेका व्यक्ति विश्वका १६० भन्दा बढी देशबाट आएका नागरिक हुन्।
अवैधरुपमा अमेरिका छिर्न खोज्नेहरु मेक्सिको, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरका नागरिक बढी रहेको बताइन्। हिरासतमा रहेकामध्ये लगभग ११ लाख वयस्कहरू छन्, जो बालबालिका बिना अमेरिका प्रवेश गर्न खोजेका थिए।
विभागका अनुसार पक्राउ परेकामध्ये १० लाखभन्दा बढी अवैध आप्रवासीलाई मेक्सिको र उनीहरुको मूल देशमा निर्वासन गरिएको छ।
यस्तै, पक्राउ पर्नेमा लगभग १ लाख ४५ हजार आप्रवासी बालबालिका पनि छन्। यसरी अवैधरुपमा अमेरिका छिर्न खोज्ने बालबालिकाको यो संख्या अहिलेसम्मकै उच्च हो। तीमध्ये शुक्रबारसम्म ११ हजार बालबालिकालाई सरकारी संरक्षणमा राखिएको जनाइएको छ।
ओपिनियन पोलमा राष्ट्रपति जो वाइडेनको लोकप्रियता पछिल्ला दिनहरूमा घटेको छ। यसको कारण केही हदसम्म वाइडेन प्रशासनको अध्यागमन नीति नै रहेको बताइएको छ।
यस महिनाको सुरुमा एसोसिएटेड प्रेस (एपी) र सेन्टर फर पब्लिक अफेयर्स रिसर्च (एनओआरसी)द्वारा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत अमेरिकीहरूले मात्र वाइडेन प्रशासनको अध्यागमन नीतिलाई जायज ठहराएका छन्।
राष्ट्रपति वाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनभन्दा बढी मानवीय आप्रवासन नीति अपनाउने कुरा गरेका थियो। तर, अमेरिका–मेक्सिको सीमामा डेमोक्रेटिक शासनको पछिल्लो नौ महिनाको अवधिमा संकट अझ चुलिएको छ।
सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्ष २०२१ मा हिरासतमा लिएका मानिसहरुको संख्या अहिलेसम्मको उच्च हो। सन् २०२० मा १६ लाख आप्रवासीहरुलाई पक्राउ गरेर अमेरिका–मेक्सिको सीमामा रहेका हिरासतमा राखिएको थियो। विभागले यो वर्ष सीमा पार गर्ने प्रयासका घटनामा वृद्धि हुनुको कारण कोरोना महामारी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।