जुम्ला– जुम्लामा हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।
‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो।

मंगलबारदेखि सुरु प्रतियोगितामा ११ टिम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाडीले प्रतियोगितामा भाग लिएका छन्। जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाडीसमेत समेटिएका छन्। प्रतियोगिता ५ दिनसम्म चल्नेछ।
प्रतियोगिताको पहिलो दिन दुई खेल भएका थिए। ती खेलमा भिक्टोरी किङ्स र श्री देवीदत्त बटालियन विजयी भएका छन्।
समुद्री सतहदेखि करिब २ हजार ४ सय मिटर उचाइमा रहेको हाँकु क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले जानकारी दिए। उनका अनुसार उच्च उचाइमा रहेको मैदानमा देशभरका खेलाडीलाई प्रतिस्पर्धा गराउँदै जुम्लालाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा चिनाउने तयारी छ।
प्रतियोगितालाई खेलकुदमा मात्रै सीमित नराखी जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनसँग जोड्ने तयारी गरिएको उनले बताए। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। यो प्रतियोगिता स्थानीय खेलाडीका लागि अवसर भएको क्रिकेट खेलाडी महेश हमालले बताए।
‘यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर दिनेछ,’ उनले भने, ‘उनीहरूको क्षमता पहिचान गर्न सहयोगसमेत पुग्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।