काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आज अपराह्न ४ बजे सुरु हुने भएको छ ।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हुने जानकारी दिए ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गर्ने चारवटा प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । बन्दसत्र सम्पन्न भएपछि नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अघि बढ्नेछ ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
यस महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने व्यवस्था रहेकाले १९ जना पदाधिकारी निर्वाचित हुनेछन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।
विधानअनुसार वरिष्ठ उपसभापति एक, महिला उपसभापति एक तथा खुलातर्फ दुई उपसभापति निर्वाचित हुनेछन् । वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै हाल उपसभापति छन् ।
हाल उम्मेदवारहरूमाथि दाबी–विरोधको प्रक्रिया चलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।