काठमाडौं- नाइजेरियाको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको एक जेलमा हतियारधारी समूहले आक्रमण गरी दर्जनौं कैदीलाई भगाएको छ।
शुक्रबार राति हतियारधारी समूहले जेलमा आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणपछि जेलबाट भागेका केही कैदीलाई पुनः पक्राउ गरिएको छ। साथै यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
‘कति जना फरार भए वा पुनः पक्राउ परे भन्ने यकिन गर्न सक्दिनँ। तर, हिरासत केन्द्र र सहर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ ओयो राज्यो ओयो सुधार केन्द्रका प्रवक्ता ओलान्रेवाजु अन्जोरिनले भने, ‘अनुसन्धान सुरु भएको छ।’
पछिल्लो समय नाइजेरियाको जेलमा आक्रमण हुने र जेल तोडेर भाग्ने क्रम बढ्दो मात्रामा देखिएको छ। शुक्रबार भएको आक्रमण सन् २०२१ मा नाइजेरियाको जेलमा भएको तेस्रो आक्रमण हो।
यो वर्ष मात्रै दुई हजार कैदी नाइजेरियाको जेलबाट भागिसकेका छन्। गत जुलाईमा सार्वजनिक भएको एक प्रतिवेदनअनुसार सन् २०१७ यता ४३ सयभन्दा धेरै कैदी जेलबाट भागेका छन्।
जेल तोडेर भाग्ने कैदीहरुबीच कुनै सम्बन्ध नदेखिए पनि जेलमा हुने आक्रमणको प्रकृति भने एउटै किसिमको देखिएको छ।
प्रहरी केही भागेका कैदीहरुलाई पुनः पक्राउ गर्न सफल भएका छन्। यद्यपि धेरै कैदीहरु भागेर छिमेकी राज्य पुग्दै आएका छन्। तर, केही कैदीहरु भने स्वेच्छाले फर्किने गरेका छन्।
नाइजेरियाली जेलहरुमा ७० हजारभन्दा बढी कैदी छन् तर २० हजार अर्थात् २७ प्रतिशत मात्र दोषी ठहरिएका छन्। मानव अधिकार समूहहरूले जेलहरू प्रायः भीडभाड हुने र कानुनी प्रक्रियाहरू लामो हुने गरेको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।