फाइल तस्बिर
काठमाडौं- म्यानमारको जुन्त सरकारले सैन्य ‘कू’को विरुद्धमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरेका सयौं राजनीतिक बन्दीहरु रिहा गरेको छ।
अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा आममाफी दिएका नेतृ आनसाङ सूकीको दलका प्रवक्ता र एकजना लोकप्रिय हाँस्य कलाकारसहित सयौं बन्दीहरु रिहा भएका हुन्।
थन्डिथयुत पर्वको उपलक्ष्यमा राष्ट्रिय टेलिभिजनले आममाफी पाउने ५ हजार ६३६ बन्दीहरुको नाम घोषणा गरेको थियो ।
सोमबार राति उक्त घोषणा हुने वित्तिकै ती बन्दीहरुलाई इन्सेइन कारागारबाट रिहा गरिएको अलजजिराले जनाएको छ।
सेनाप्रमुख मिन आङले टेलिभिजन सम्बोधनबाट आममाफीको घोषणा गरेको केही घण्टामै उनीहरुलाई रिहा गरिएको थियो।
संसदीय निर्वाचनमा धाँधली गरेको भन्दै गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो ।
दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान)ले सेना प्रमुखलाई यस महिनाको अन्त्यमा हुने बैठकमा निम्तो नगर्ने घोषणा भएको केही दिनमै म्यानमार सेनाले राजनीतिक बन्दीहरुलाई आममाफी दिने घोषणा गरेको हो ।
गत सोमबार म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी बन्दीबन्दीलाई रिहा गर्न देशको राज्य प्रशासन परिषद्ले आदेश दिएको थियो।
मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो।
प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको छ भने देशभित्र आन्दोलन भएको थियो।
आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।