सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हवाई हमलाको जवाफमा अमेरिकाले आतंकवादी संगठन अलकायदाविरुद्ध युद्ध सुरु गरेको थियो। उक्त युद्ध त्यही वर्ष डिसेम्बर ९ मा अफगानिस्तानको तालिबानी सरकारलाई ढालेपछि मत्थर भएको थियो।
उक्त युद्धकै बीच विश्वलाई नै चकित बनाउने खबर बाहिर आयो। विश्वभरि हुने जवाफी आक्रमणको विश्लेषक मानिने डेभिड किलक्यलैनको ध्यान एउटा ट्याटुमा गयो। एक अफगानी लडाकुको शरीरमा बनेको ट्याटु कुनै पनि रुपमा अफगानिस्तानसँग जोडिएको थिएन।
त्यो ट्याटु क्यानडाको राष्ट्रिय झण्डामा भएको मेपल वृक्षको पातको ट्याटु थियो।
लडाकुको ट्याटुले अच्चमित भएका डेभिड आतंकवादसँग त्यो पातको सम्बन्धबारे खोज्न थाले। उनले मेपलको पातको सम्बन्ध एउटा यस्तो 'हतियार'सँग पाए, जसप्रति आजसम्म कसैको ध्यान गएको थिएन। त्यो थियो, टोयोटाको पिकअप ट्रक हाइलक्स।
एउटा अन्तरवार्तामा डेभिडले भनेका छन्, ‘अफगानिस्तानमा यो गाडीलाई मानिसले निकै इज्जत दिएका छन्। सुरुवातमा कैयौं धोकेबाज व्यापारीहरुले नक्कली हाइलक्स पिकअप बजारमा ल्याएका थिए। ट्रक छोटो समयमा बजारमा चर्चित भयो, तर खराब प्रदर्शनका कारण लडाकुहरु यसबाट निराश थिए। त्यत्ति नै बेला क्यानडाबाट असली हाइलक्स पिकअप (जापानी कम्पनी टोयोटाद्वारा उत्पादित) अफगानिस्तानमा पुग्यो। यी पिकअपको पछाडि क्यानडाको राष्ट्रिय चिन्ह मेपलको पात अंकित थियो।’
असली हाइलक्सको विश्वसनीयता र शक्तिले अफगान लडाकुलाई यो गाडीको प्रशंसक बनायो। गाडीमा मेपलको पात बनाइएको हुनाले अफगानिस्तानमा यो चिन्हप्रति पनि उच्च सम्मान सिर्जना भयो। यसलाई गुणस्तरको पर्याय मान्न थालियो।
अप्ठ्यारो समयमा पनि हाइलक्स निकै सहयोगी साबित हुँदा तालिबान र अलकायदाका लडाकुहरु यसको प्रशंसक भए। अनि, आफ्नो शरिरमा मेपलको पातजस्तै ट्याटु बनाउन सुरु गरे।
विश्लेषक डेभिडले उक्त अन्तरवार्तामा कसरी क्यानडाबाट आएको पिकअप आतंकवादीको हातमा पुग्यो भन्ने बताएनन्। न टोयोटाले नै कहिल्यै आफ्नो व्यवसायिक विज्ञापन वा कुनै मार्केटिङ अभियानमा आफ्नो उत्पादन कुनै देशमा गुणस्तरको प्रतीक भएको उल्लेख गरेको छ।
तर, हाइलक्स टोयोटाको पहिलो गाडी थिएन, जसलाई अलकायदाका लडाकुहरुले प्रयोग गरेका थिए। नोभेम्बर २००१ मा ‘न्युयोर्क टाइम्स’ पत्रिकामा छापिएको एक समाचारअनुसार अलकायदाका प्रमुख ओसामा बिन लादेन र उनका सैन्य कमाण्डर मुहम्मद आतिफले टोयोटाको एसयूभी ल्याडक्रुजरलाई निकै मन पराएका थिए। त्यत्ति बेला एक भिडियो पनि सार्वजनिक भएको थियो, जसमा आतिफ र अलकायदाका अन्य कमाण्डरहरु ल्याडक्रुजर गाडीमा देखिएका थिए। यी गाडीको छतमा प्रहरीको गाडीमा जस्तै आपत्तकालीन बत्ती जडान गरिएको थियो।

जब आतंकवादी समूहसँग यति धेरै ल्याडक्रुजर भएकोबारे जापानी अटोबोमाइल कम्पनी टोयोटासँग प्रश्न गरियो, कम्पनीले पछिल्लो पाँच वर्षमा केवल एउटा ल्याडक्रुजर मात्र आधिकारिक रुपमा अफगानिस्तान निर्यात गरिएको जानकारी दियो। अफगानिस्तानमा लगातार बढिरहेको आफ्नो उत्पादनबारे कम्पनीले भनेको थियो, ‘हाल कम्पनीको कुनै पनि ब्रिकी वितरण केन्द्र अफगानिस्तानमा छैन। यी सबै गाडीहरु छिमेकी देशबाट अनधिकृत रुपमा अफगानिस्तान पुर्याइएको छ।’
टोयोटा हाइलक्सको पहिलो उत्पादन ५० वर्ष पहिले मार्च १९६८ मा भएको थियो। बीबीसीको काबुलस्थित संवाददाता डेभिड लोयनका अनुसार हाइलक्सले तालिबानी लडाकुलाई दीर्घकालसम्म पनि साथ दिएको थियो। यी सवारी साधनको प्रयोगले आतंकवादी समूहका लडाकु र हतियारलाई एक स्थानबाट अर्को स्थानमा लैजान–ल्याउन निकै सुविधा भएको थियो। अर्कातिर यिनै सवारी साधन सुरक्षा एजेन्सीहरुका लागि ठूलो चुनौती बनेका थिए।
यी सवारीका कारण हुने नोक्सानीको गाम्भीर्यलाई मध्यनजर गर्दै अमेरिकी सुरक्षा संस्थासँग आबद्ध अधिकारी एन्ड्रयु एक्समले एक कार्यक्रममा भनेका थिए, ‘जसरी राइफलमा एके–४७ भनिन्छ, त्यस्तै गाडीहरुमा टोयोटा हाइलक्स छ।’
टोयोटा हाइलक्सप्रति विद्रोही संगठनहरुको झुकाव अफगानिस्तानमा मात्रै थिएन। दुनियाँभरिका धेरै यस्ता संगठनद्वारा यो साधनको पहिल्यैदेखि उपयोग भइरहेको छ, जुन अहिले पनि जारी छ। केही वर्ष पहिले चर्चित पत्रिका न्युजविकमा एक लेख छापिएको थिए, जसअनुसार दुनियाँभरका छापामार लडाकुहरुका लागि टोयोटा हाइलक्स ‘प्रमुख हतियार’ हो। अफगानिस्तानदेखि सोमालिया र निकारागुआदेखि चाडसम्म यो गाडीको माग धेरै छ। तथ्याकंअनुसार पनि टोयोटाका यी दुई गाडी (हाइलक्स र ल्याडक्रुजर) को बिक्री र लोकप्रियता हरेक वर्ष बढिरहेको छ।
सोमालिया र सिरियामा टोयोटाको प्रयोग
विद्रोही गतिविधिमा टोयोटाको सबैभन्दा पहिलो प्रयोग सोमालियामा भएको अनुमान गरिन्छ। सन् १९६० को दशकमा जब सोमालिया र इथियोपियाबीच सीमा विवाद भइरहेको थियो, तब सोमालियाले टोयोटाका गाडीहरुको अत्यधिक उपयोग गरेको थियो।
पछि यी गाडीहरुको सहुलियतका कारण यसलाई समुन्द्री लुटेराहरुले पनि प्रयोग गर्न थाले। यसबारेमा ‘लुटेरालाई मनपर्ने हाइलक्स’ शीर्षकमा न्युयोर्क टाइम्समा लेखसमेत छापिएको थियो।
सन् २०१४ मा अमेरिकाले सिरियाको विद्रोही सेनालाई सहयोग गर्न हतियारहरु पठाएको थियो, जसमा ४३ वटा हाइलक्स ट्रक पनि समावेश गरिएको थियो। भनिन्छ, सिरियाका विद्रोही नेताहरुले युद्धमा ‘शानदार प्रदर्शन’ गरिरहँदा अमेरिकासँग मुख्यगरी हाइलक्स ट्रकको माग गरेका थिए। सिरियाका विद्रोही सेनालाई बेलायतले पठाएको सहयोगमा पनि हाइलक्स ट्रक समावेश गरिएको बताइन्छ।
आईएसआईएसलाई पनि टोयोटा प्यारो
आफ्नो समूहको प्रचारको लागि आईएसआईएस जुन भिडियो जारी गर्छन्, ती भिडियोमा पछिल्ला केही वर्ष यता टोयोटा गाडीको लामसमेत देखिन थालेको छ। यीमध्ये अधिकांश नयाँ नै हुन्छन्।
संयुक्त राष्ट्रमा अमेरिकाका भूतपूर्व राजदूत रहेका मार्क वैलेस दुर्भाग्यपूर्ण रुपमा टोयोटाको ट्रक आईएसआईएससँग जोडिएको बताउँछन्। जब टोयोटालाई योबारेमा सोधिन्छ, तब कम्पनीले कुनै पनि सवारी निर्मातालाई पुरानो सवारीको खरिद बिक्रीका लागि स्थापित भइरहेको अनधिकृत माध्यममाथि रोक लगाउन असम्भव भएको बताउँदै आएको छ।

जानकारहरुका अनुसार सुरक्षा एजेन्सीहरु टोयोटाको यो जवाफबाट त्यति सन्तुष्ट थिएनन्। योबाट आफ्नो अनुसन्धानलाई निरन्तरता दिइरहन उनीहरुलाई प्रेरणा मिलेको थियो। उक्त अनुसन्धानबाट आईएसआईएससँग यति धेरै मात्रामा टोयोटाका गाडी कसरी पुग्यो भन्ने कारण पत्ता लाग्यो।
अमेरिका र युरोपेली देशहरुले सिरियाली विद्रोहीहरुलाई ठूलो संख्यामा हाइलक्स ट्रक पठाउने गर्थे। जसमध्ये धेरै ट्रक आतंकवादी समूहहरुले चोर्ने गरेका छन्। योबाहेक अन्य देशबाट पनि यी गाडी चोरी गरी धेरै मूल्य लिएर आतंकवादी समूहलाई बेच्ने गरेको खुलेको थियो।
अस्ट्रेलियाको एक रिपोर्टका अनुसार सन् २०१४ देखि २०१५ बीचमा ८०० टोयोटा गाडी गायब भएको थियो। यी गाडीहरु आईएसआईएससम्म पुगेको शंका गरिएको छ।
टोयोटा हाइलक्स किन आतंकवादी समूहको प्यारो बन्यो?
यो प्रश्नको जवाफ थाहा पाउन दुनियाँभरकै विज्ञहरु अनुसन्धानमा लागेका थिए। उनीहरुमध्ये अधिकांशले हाइलक्स गाडी तौलमा हलुका हुने, अत्यधिक छिटो गुड्न सक्ने र करिब २० मानिसलाई हतियार सहित एकै पटकमा बोक्न सक्ने भएकाले आतंकवादी समूहले मन पराएको अनुमान लगाएका थिए।
बेलायतका विशेषज्ञ डा. अलस्टेयर फिनलानका अनुसार टोयोटाको हाइलेक्स एक यस्तो साधन हो, जसको सहयोगले कुनै पनि लडाकु समूह सहज रुपमा आक्रमण गर्न र भाग्न सक्छ। हाइलक्ससँग ५० केलिबर (मेसिन गन) जोड्ने बित्तिकै यो यस्तो साधनको रुप लिन्छ, जसले सैनिक टुकडी र बख्तरबन्ध साधनलाई छिनभरमै ध्वस्त बनाउन सक्छ।
अमेरिकाको वासिङटनस्थित सीरियाको राष्ट्रिय गठबन्धनका सल्लाहकार ओउबाइ शाहबन्देर यो हाइलक्स पिकअपको ठूला प्रशंसक हन्। उनी टोयोटाको हाइलक्सलाई विषेश हतियारको संज्ञा दिन्छन्, जसले कमजोर समूहलाई पनि युद्ध भूमिमा हौसला प्रदान गर्छ।
टोयोटाको डिजाइन डिभिजनका प्रमुख केविन हन्टरले एक कार्यक्रममा हाइलक्सलाई थोरै तौलसहितको ट्रकको रुपमा तयार गरिने बताएका थिए। ठूला पांग्रासहितको यो ट्रकको ‘ग्राउण्ड क्लियरेन्स’ पनि निकै धेरै हुन्छ, जसले यसलाई फरक किसिमका सडकमा पनि चल्न सहज बनाउँछ। पहाड, हिलो, नदी र सबै किसिमका बाटामा यो गाडी सहज रुपमा चल्न सक्छ। हन्टरका अनुसार हाइलक्सलाई ‘बडी अन फ्रेम’को रुपमा तयार पारिन्छ, जसकारण यो गाडी अन्यको तुलनामा धेरै मजबुत हुने गरेको छ।
–सत्याग्रहबाट भावानुवाद गरिएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।