काठमाडौं- बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि सरकारलाई समयमा नै आवश्यक कदम चाल्न स्वास्थ्य अधिकारीहरुले दिएका छन्।
कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बताउँदै उनीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका हुन्।
बेलायतका स्वास्थ्य अधिकारीहरुले हरेक दिन करिब ५० हजार जना संक्रमित भेटिनु र मृत्युदर पनि हरेक दिन २०० भन्दा माथि हुनु गम्भीर भएको बताएका छन्। बेलायतमा गएको २४ घन्टायता करिब ४४ हजार जना संक्रमित थपिएका छन्। योसमेत गरी संक्रमितको संख्या ८५ लाख पुगेको छ।
यता, बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख म्याथ्यू टेलरले कि ‘प्लान बी प्लस’ अन्तर्गतको प्रतिबन्ध लगाउनुपर्ने कि त एनएचएस संकटको सामना गर्न तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्।
आजै साँझ बेलायती स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटबाट कोरोना अपडेट ‘प्रेस कन्फ्रेन्स’ गर्ने भएका छन्।
उनले नयाँ प्रतिबन्धको घोषणा नगरेपनि आवश्यक सुरक्षा सतर्कता सम्बन्धि नियमको बारेमा उल्लेख गर्ने र ‘प्लान बी’ सम्बन्धि अवधारणा प्रस्तुत गर्ने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।