काठमाडौं- भारतको दिल्ली सरकारले बेमौसमी वर्षाका कारण पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने भएको छ।
बुधबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई प्रतिहेक्टर ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका हुन्। क्षतिपूर्ति स्वरुप किसानलाई प्रदान गर्न लागिएको सहयोग देशभरमै सबैभन्दा बढी भएको उनले दाबी गरेका छन्।
‘केही दिनअघि किसानहरु मलाई भेट्न आउनु भएको थियो। बेमौसमी वर्षाले उहाँहरुको बालीनाली नष्ट भएको छ। तर, उहाँहरु दु:खी हुनु पर्दैन’, केजरीवालले भने, ‘सधैँ झै तपाईंको साथमा सरकार छ। आफ्नो बाली गुमाएका किसानलाई क्षतिपूर्ति स्वरुप प्रतिहेक्टर ५० हजार प्रदान गर्न भनेको छु।’
उनका अनुसार दुई हप्ताभित्र बालानालीमा पुगेको क्षतिपूर्तिबारे सर्वेक्षण गरिने छ। सर्वेक्षण सकिएपछि दुई महिनाभित्र किसानको बैंक खातामा क्षतिपूर्ति रकम पठाइने उनले जानकारी दिएका छन्।
‘विगत ६/७ वर्षमा बालीनाली नष्ट हुँदा हामीले तपाईंलाई सहयोग गर्यौं। तपाईंको यो छोरो तपाईंहरुकै साथमा छ। मैले किसानको मर्का बुझेको छु,’ उनले भने।
केही दिनदेखिको बेमौसमी झरीका कारण दिल्लीको ग्रामीण भेगका किसानले ठूलो नोक्सानी ब्यहोरेका छन्।
वर्षाका कारण दिल्लीसहितका भारतीय प्रान्त प्रभावित बन्न पुगेका छन्। वर्षापछिको बाढीपहिरोबाट उत्तराखण्डमा ४६ जनाले ज्यान गुमाइसकेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।