काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः नेपाल फर्किन तयार भएका छन्।
१३औं साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको खेलपछि आयोजित प्रि-म्याच कन्फ्रेन्समा एक महिना अगाडि नै राजीनामा दिएको खुलासा गरेका अल्मुताइरी पुन: नेपाल फर्किन तयार भएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधारका अनुसार माल्दिभसको मालेमा भएको वार्तामा अल्मुताइरी नेपाल फर्किन सकारात्मक रहेको बताए।
‘भारतसँगको फाइनल खेलपछि मालेमा उहाँसँग हाम्रो वार्ता भएको थियो। उक्त वार्तामा उहाँले केही दिनपछि नेपाल फर्किने आश्वासन दिनुभएको छ,’ उनले नेपाल लाइभसँग भने,‘एक-दुई हप्तामा नै शुभ समाचार सुन्न पाउनुहुनेछ।’
भारतसँग फाइनलमा ३-० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन्। उनी सीधै कतार गएका थिए।
‘उहाँले केही समय रेस्ट दिनु भन्नुभएको थियो। त्यसैले उहाँ मालेबाट सीधै कतार जानुभएको हो। उहाँ नेपाल फर्किनुहुन्छ भन्नेमा म सतप्रतिशत ढुक्क छु,’ तुलाधरले भने।
यता, एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले पनि अल्मुताइरी पुनः नेपाल फर्किन तयार रहेको दाबी गरेका छन्।
‘मसँग भएको कुराकानीमा प्रशिक्षक (अल्मुताइरी)ले नेपाल आउने सहमति जनाउनुभएको छ। प्रशिक्षक पुनः नेपाल फर्कनुहुन्छ। दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँ एक-दुई सातामा नेपाल आउनुहुन्छ,’ उपाध्यायले भने।
उनले पछिल्ला दिनमा अल्मुताइरीले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सकाउन नेपाल फर्कने बताए।
गत चैतमा एन्फाले पहिलोपटक अल्मुताइरीलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो। उनको सम्झौता ५ कात्तिकमा सकिँदै छ।
यसअघि ‘प्रो-लाइसेन्स’ प्राप्त स्वीडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका थिए। तर, उनीसँग ‘प्रो-लाइसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अल्मुताइरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको खटपट र त्यसपछिका एन्फा राजनीतिले उनी नेपाल नबस्ने मनसाय बनाउँदै आएका थिए।
यता, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार नै सामाजिक सञ्जालमार्फत् अल्मुताइरीसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको जानकारी दिएका छन्। कतारमा भएको भेटपछि सामाजिक सञ्जालमा फोटो राख्दै उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।