बंगलादेशविरुद्ध पेनाल्टीमार्फत् बराबरी गोल गरेपछि नेपाली टोली। तस्बिर सौजन्य: एन्फा
काठमाडौं- नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
मालेस्थित राष्ट्रिय रंगशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
बंगलादेशले नवौं मिनेटमा सुमन रेजाको गोलमार्फत् अग्रता लिएको थियो।
८८औं मिनेटमा नेपालले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो। नेपालले पाएको पेनाल्टीलाई अञ्जन विष्टले गोलमा परिणत गरेका हुन्।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको यो नै पहिलोपटक हो।
नेपाल ४ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो। आइतबार भारतसँग नेपाल १-० ले पराजित भएको थियो। तीन खेलबाट ४ अंक जोडेको बंगलादेशलाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने थियो।
अब नेपालले भारत वा माल्दिभ्ससँग शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
आजै राति भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। फाइनलका लागि माल्दिभ्सलाई बराबरी पर्याप्त हुनेछ। भारतलाई भने जितको विकल्प छैन।
माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ। श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।