काठमाडौं- सरकारले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्न पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको छ।
यसअघि असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुनविपरीत छोरीको नाममा १० हजार कित्ता सेयर खरिद गरेको आरोप लागेको थियो। सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रणालीमा आईपीओ जारी गर्न अनुमति दिनुभन्दा करिब तीन साताअघि अध्यक्ष ढुंगानाकी छोरीले उक्त सेयर किनेको देखिएपछि ढुगाना विवादमा तानिएका थिए।
यस सम्बन्धमा छानबिन गर्न भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको छानबिन समितिले असोज ५ गते अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक निर्णय गर्ने बताएका थिए।
धितोपत्र बोर्डको कार्यालयको लागि जग्गा खरिद गर्दासमेत उनी अनियमिततामा मुछिएका थिए। सेयर बजारमा सूचीकृत ५१ कम्पनीको खराब रहेको सूची प्रकशित गर्नुमासमेत उनको स्वार्थ रहेको प्रतिवेदन छानबिन समितिले बुझाएको थियो।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।