काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन्।
बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याइ बोर्डको हित र पुँजीबजारको विकासविपरीत हुनेगरी पदीय आचरणविपरीत काम कारवाही गरेको भन्ने सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्री परिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ।
सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुनविपरीत छोरीको नाममा १० हजार कित्ता सेयर खरिद गरेको आरोप लागेको थियो। सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रणालीमा आईपीओ जारी गर्न अनुमति दिनुभन्दा करिब तीन साताअघि छोरीले उक्त सेयर किनेको देखिएपछि उनी विवादमा तानिएका थिए।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने बताए। अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे।
सेयरबजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयरबजार घटबढ हुने कुरा नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।