काठमाडौं- भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उपनिर्वाचनमा जित हात पारेकी छन्।
भबानीपुर क्षेत्रमा गत बिहीबार भएको उपनिर्वाचनमा निकटतम् प्रतिष्पर्धीभन्दा ५९ हजारभन्दा बढी मत ल्याएर बेनर्जीले चुनाव जितेकी हुन्।
आइतबार सार्वजनिक भएको मतपरिणाम पछि भारतीय जनता पार्टी (भाजपा)की उम्मेवार प्रियंका तिब्रेवालले हार स्वीकारेकी छन्। उनले १ लाख बढी मतले जित्छु भन्ने बेनर्जीको भनाइ पूरा नभएको बताइन्।
गत मार्च र अप्रिलमा भएको विधानसभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी नन्दीग्राम चुनाव क्षेत्रमा तृणमूल कंग्रेस छोडेर भाजपामा गएका क्याबिनेटका पूर्वमन्त्रीसमेत रहेका शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्।
चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन।
भारतीय संविधानको धारा १६४ (४)ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ
‘भवानीपुरमा ममता बनर्जीको जित कुनै मुद्दा थिएन। हाम्रो उद्देश्य विजय मार्जिन बढाउनु थियो र भवानीपुरबाट सम्पूर्ण राष्ट्रको लागि एक सन्देश पठाउनु थियो। टीएमसीले यसमा ठूलो सफलता पाएको छ,’ बनर्जीले भनिन्।
उनले अबको लक्ष्य २०२४ को लोकसभा रहेको पनि सुनाइन्। ‘अब हाम्रो लक्ष्य लोकसभा चुनावमा भाजपालाई पराजित गर्नु हो। भाजपालाई कुर्सीबाट हटाउनु पर्छ। त्यो नै साँचो जित हुनेछ,’ उनले भनिन्।
तृणमूल कांग्रेसका वरिष्ठ नेता तथा शहरी विकासमन्त्री फिर्हाद हकीमले भवानीपुरमा बनर्जीको चुनावी अभियानको जिम्मा लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।