जुम्ला– जुम्लामा जारी केपीएलको दोस्रो दिन भिक्ट्री किङ्सले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले ८ ओभरमै एक विकेट गुमाएर पूरा गर्यो।
भिक्ट्री किङ्सका राजकुमार शाहीले ४० रन बनाए। अनुराग वर्मा ३९ रनमा अविजित रहँदा किरण अधिकारीले ११ रनको योगदान दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टिम जुम्लाले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो। दुचान चौलागाईंले २५, सञ्जित रावतले १८ र भरत चौलागाईंले १२ रन बनाए।
भिक्ट्री किङ्सका किरण अधिकारीले तीन विकेट लिए। भुवन शाही र अनुराग वर्माले एक–एक तथा अर्जुन गुप्ताले दुई विकेट लिए। तीन विकेटसँगै ११ रन बनाएका किरण खेलको प्लेयर अफ द म्याच बने।
पुलिस र तिला वारियर्सको सुरुवात
दोस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन तिला वारियर्सलाई १९ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ५ ओभरमा तीन विकेट गुमाएर ४५ रन बनाएको थियो। दीपेन्द्रनाथले १८ र सुनिल केसीले १७ रन बनाए।
जवाफमा हिमालयन तिला वारियर्सले ५ ओभरमा ६ विकेट गुमाएर २६ रन मात्र बनाउन सक्यो। उसका लागि गौरव बुढाले १७ रन बनाए।
नेपाल पुलिसका दिलबहादुर थापाले तीन तथा सुनिल केसीले एक विकेट लिए। तीन विकेट लिएका दिलबहादुर थापा प्लेयर अफ द म्याच बने।
नेपाल पुलिस र हिमालयन तिला वारियर्सका लागि यो प्रतियोगिताको पहिलो खेल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।