काठमाडौं- ताइवानले आफ्नो हवाइ क्षेत्रमा चीनले अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको दाबी गरेको छ।
चीनको राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार ३८ वटा लडाकु विमानले आफ्नो हवाइ क्षेत्रमा दुईपटक उडन भरेको दाबी तइवानले गरेको रोयटर्सले जनाएको छ।
ताइवानले एक वर्षमा कयौंपटक चीनले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप लगाएको छ। खासगरेर ताइवानको नियन्त्रणमा रहेको दक्षिण-पश्चिमी क्षेत्र प्रतास द्वीप नजिक चीनले अतिक्रमण गरेको उसको आरोप छ।
ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्छ तर, चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा बताउँछ।
ताइवानको रक्षा मन्त्रालयले चीनको १८ जे-१६, चार सुखोई-३० लडाकु विमान, परमाणु क्षमता भएको दुई एच-६ र एक एन्टी-सबमरीन लडाकु विमान ताइवानको सीमामा प्रवेश गरेको आरोप लगाएको छ। जसको जवाफ आफूहरुको लडाकु विमानले दिएको उसको दाबी छ।
१३ थप चिनियाँ लडाकु विमान आफूहरुको हवाई सीमामा प्रवेश गरेको उसको भनाइ छ।
ताइवानी रक्षा मन्त्रालयले चिनियाँ विमानलाई चेतावनी दिनका लागि लडाकु विमान पठाएको र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरिएको जनाएको छ।
चिनियाँ लडाकु विमानले पहिले प्रतास द्वीप नजिक र फेरि ताइवान र फिलिपिन्स छुट्टिने बाशी च्यानलमाथि उडान भरेको बीबीसीले जनाएको छ।
यसबारे चीनले केही प्रतिक्रिया जनाएको छैन। यसअघि भने चीनले देशको संप्रभुता बचाउनका लागि यस्तो उडान भरेको जनाउने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।