काठमाडौं- अस्ट्रेलियाले कोरोनाविरुद्ध खोप लगाएकालाई आफ्नो मुलुकमा प्रवेश गर्न दिने भएको छ। उसले १८ महिनामा पहिलो पटक आफ्नो मुलुक प्रवेशको अनुमति दिन लागेको हो। अस्ट्रेलियाले आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ।
खोप लगाएका यात्रुहरुले सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको बीबीसीले उल्लेख गरेको छ।
अस्ट्रेलियाले अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र प्रवेशका लागि अनुमति दिने जनाइएको छ
तर, प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्।
अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्दैछ। अहिले मानिसहरूले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न मात्रै अस्ट्रेलिया छाड्न पाउँछन्।
सिड्नी, मेलबर्न र क्यानबेरामा संक्रमणका कारण लकडाउन लगाइएको छ। त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउनेको संख्या बढेको छ।
प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताए।
सिड्नी रहेको न्यू साउथ वेल्स ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने पहिलो राज्य बन्ने क्रममा रहेको बताइएको छ। तर क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएसम्म आफ्नो सीमा बन्द नै राख्ने बताइरहेका छन्।
सङ्क्रमण देखा परेका राज्यका मानिसलाई प्रवेश गर्न नदिएर यी राज्यहरू आफ्नो सङ्क्रमण दर शून्य वा लगभग शून्य कायम राख्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।