काठमाडौं- खाली रहेका अफगानिस्तानको केन्द्रीय राजधानी काबुलका घरहरु भाडामा दिने तालिबानले जनाएको छ।
१५ अगस्टमा तालिबान काबुलमा प्रवेश गरेपछि हजारौं मानिसहरुले देश छाडेका थिए। यस समयमा मात्र अमेरिका र उसका सहयोगी सेनाले काबुलबाट झण्डै एक लाख अफगान नागरिकहरुलाई उद्धार गरेको थियो।
त्यसयता काबुलका धेरैजसो घर खाली छन्। तालिबानको यो निर्णय यस्तो समयमा आएको छ जब अफगानिस्तान गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ।
‘जो पश्चिम तिर भागेका छन्, उनीहरु घर नफर्केसम्म भाडामा दिनुपर्छ,’ तालिबानले बुधबार अरबी भाषामा ट्वीट गर्दै भनेको छ,‘यस्ता घरहरुबाट प्राप्त भाडा केन्द्रीय बैंकमा जम्मा गरिनेछ। तर देश फर्केपछि घरमालिकलाई यसको एक हिस्सा दिइनेछ।’
पश्चिमी देशहरुले तालिबानको नियन्त्रणमा आएपछि अफगानिस्तानको अन्तर्राष्ट्रिय कोष रोक्का गरेका छन्। यसमा देशको केन्द्रीय बैंकको आईएमएफमा रहेको पूँजी पनि समावेश छ।
यी प्रतिबन्धहरु को कारण अफगानिस्तानमा मुद्रास्फीति चरम बिन्दुमा छ र त्यहाँ नगदको गम्भीर अभाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।